नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ। 

कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो। प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ।
 
कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्फ्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमबार बिहान ७ः३० बजेदेखि मतदान स्थल खुला गरिएको छ। कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ।

एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन्। मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो। दोस्रो विश्वयुद्ध पश्चात् पहिलोपटक दी हेगमा कर्फ्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन्।

तर सन् २०१० देखि सत्तामा रहेका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ। यो विजयपछि उनले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउनु हुनेछ। 

पछिल्ला चुनावी मत सर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ। रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन्। 

नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ। 

गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म लगाइएको कर्फ्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिएका छन्। सन् २०१७ को चुनावमा अति–दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ। 

ब्रेक्जिट र ट्रम्प दुवै विषय अहिले ओझेलमा परेकाले विल्डर्सको दलले प्रधानमन्त्री रुटलाई विस्थापित गर्ने सम्भावना कमजोर भएको छ। ‘अहिलेकै सरकार लोकप्रिय छ र प्रधानमन्त्री रुटको लोकप्रियता घटेको छैन’, विल्डर्सले एएफपीसँगको अन्तर्वार्तामा स्वीकार गरे । रासस

Skip This
Skip This
Logo