आफूखुसी गुटकाे भेला नगर्न नेता-कार्यकर्तालाई ओलीको निर्देशन

आफूखुसी गुटकाे भेला नगर्न नेता-कार्यकर्तालाई ओलीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् । उनले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए । पार्टी विधि विधान अनुसार चल्ने भन्दै उनले मनपरि गर्ने छुट कसैलाई नभएको बताए। कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गरे ।

जंगलको राज चल्दैन

प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गरे। लक्ष्मीप्रसाद देवकोटाको कविता जंगलको राजको प्रसंग उल्लेख गर्दै उनले अब पार्टीभित्र अराजकता चल्न नदिने बताए। उनले पार्टीभित्र विचारमा एकतावद्ध भएर अनुशासित ढंगले काम गर्नुपर्नेमा जोड दिए। सत्य र अनुशासित समाज निर्माणका लागि एकतावद्ध, अनुशासित र गतिशील पार्टी हुनुपर्नेमा उनले जोड दिए।

आत्मालोचना

आफूहरुले फराकिलो सोच राखेको भन्दै उनले आत्मालोचनासहित पार्टी एकताको पक्षमा उभिन नेता नेपाल समूहलाई आग्रह गरे। उनले विगत जस्तै तमासा गर्ने कुरा अब पार्टीभित्र नचल्ने भन्दै चेतावनी दिए।

राम्रो लक्षण देखिएन

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आव्हान गरेको चियापानमा सरिक नभएर नेता नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको भन्दै उाले भने, एकथरि अनुहारहरु देखिएन आज । यो राम्रो लक्षण होइन । उनले नेता नेपाल समूहले भोलि बुधबारका लागि आव्हान गरेको भेलालाई आफूले हेरिरहेको भन्दै धम्क्याएर, घुर्क्याएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिए ।

सभामुख जिम्मेवार हुनु भएन

प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक पनि सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुँदै गएको बताए। मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैंले चल्न नदिने ,आफैं बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफैं वेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्न नदिएको टिप्पणी प्रधानमन्त्रीले गरे।

प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवार पुरा नगरेको दाबी गरे । आफूले सधैं संसदलाई नेताहरुको स्वार्थ तथा दलिय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौं भन्दै आएको भएपनि संसदलाई सो ढंगले चलाउन नदिएको दाबी प्रधानमन्त्री ओलीले गरे। उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गरे ।
 

Logo