काठमाडौं ।
पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपस्थित थिए ।
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले आज उद्घाटन गरिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गरिएको हो ।
यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
वि.सं. १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।





























प्रतिक्रिया