गणेशमान सिंह १०–के रोड रेसको उपाधि गोपी र सन्तोषीलाई

गणेशमान सिंह १०–के रोड रेसको उपाधि गोपी र सन्तोषीलाई

केन्द्रबिन्दु
0
Shares

दोस्रो संस्करणको वीर गणेशमान सिंह १०–के रोड रेस प्रतियोगिताको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्की र धार्दिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । गोपी र सन्तोषी लगातार दोस्रो वर्ष च्याम्पियन बनेका हुन् । दुबैले पहिलो संस्करणको उपाधि समेत जितेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक जितेका गोपीले निर्धारित दुरी ३१ मिनेट ४४.४९ सेकेण्डमा पूरा गरे । उपाधिसँगै गोपीले ६० हजार नगद प्राप्त गरेका छन् । गोपीले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेण्डको समयलाई समेत भङ्ग गरे । कीर्तिमान बनाएसँगै उनले थप १० हजार प्राप्त गरेका छन् । पुरुषतर्फ अनिस थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको समयसहित दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । यस्तै गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे । 

१३ औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३ः४४ सेकेण्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पूरा गरेकी थिइन् । अघिल्लो संकरणको समय भङ्ग गरेसँगै सन्तोषीले पनि थप १० हजार प्राप्त गरिन् । 

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३०.० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फूलमती राना ४० मिनेट ५६.० सेकेण्डको समयसहित तेस्रो भइन् ।

यस्तै पूर्णलक्ष्मी न्यौपाने चौंथो र बिर्सना कुमाल पाँचौं भइन् । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर हस्पिटल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा आएर सकिएको थियो ।

Skip This
Skip This
Logo