‘सङ्क्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’ : नेता नेपाल

‘सङ्क्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’ : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नु पर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतङ्क सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । सङ्क्रामक रोग सम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई सङ्क्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताए ।

सरकारले कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनु पर्ने बेलामा भएको यस्तो निर्णय अनुचित रहेको पनि बताए । उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालले निःशुल्क उपचार बन्द गरेको कारण सङ्क्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गरेका छन् ।रासस

Skip This
Skip This
Logo