हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ। आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदावधि चैत १० देखि सकिने आयोगले जनाएको छ। जसका कारण आयोगले तयार पारेको कार्यतालिका अनुरुप अब सञ्चालन हुने परीक्षा, अन्तर्वार्ता सबै प्रभावित हुने देखिएको हो।
चालू आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको अर्थमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो। कुल ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेकामा ४३ अर्ब ९८ करोड २५ लाख मात्र उठेको छ ।
बङ्गलादेशको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। आजै त्यहाँका विदेशमन्त्री डा मोमेनले पनि राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगतमा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो।
नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन्। सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक गोपाल महर्जनले किरण कप्तानीसँगै टिमको उपकप्तानमा रोहित चन्द रहेको जानकारी दिए। त्रिदेशीय खेलका लागि बंगलादेश र किर्गिस्तानको टिम नेपाल आइसकेका छन्।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई द्रुतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। समितिले सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रोचरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। सेनाले भने निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्दै आएको छ।































प्रतिक्रिया