ढुक्क हुँदै ओली, अप्ठेरोमा प्रचण्ड

ढुक्क हुँदै ओली, अप्ठेरोमा प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीयरुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिन्छन्। 

सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिए पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन्। उनी भन्छन्, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजैरुपमा संसदबाट विश्वासको मत लिनुहुन्छ।

नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाएका छन्।

प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन। पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ। एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ। तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले दौडधुपमा लागेको जसपाले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादलाई निरन्तरता दिएको छ। तर, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा रहेकाले जसपा अर्निणित बन्न पुगेको छ।

प्रधानमन्त्री ओली जसपालाई चित्तबुझ्दो गरी मन्त्रालय भागवण्डा गर्न तयार भए पनि प्रतिनिधिसभा विघटन गर्ने व्यक्तिलाई समर्थन गर्ने÷नगर्ने बहस जसपाभित्र सुरु भएको छ। जसपाका नेता महेन्द्र राय यादवले ठूला दल असफल भएकाले यसपटक जसपाको नेतृत्वमा सरकार गठन गनुपर्ने पक्षमा आफूहरु रहेको बताउँछन्। उनले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई समर्थन गर्दा जनताको बीचमा जान कठिनाइ हुने बताउँदै पार्टीले यस विषयमा छिट्टै निर्णय गर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन कायमै राखेकाले अहिलेलाई विश्वासको मत लिनुपर्ने अवस्था छैन। माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा जसपासँग सत्ता गठबन्धन गरेर अगाडि बढ्ने नीतिमा प्रधानमन्त्री ओली रहेका छन्। ओली निकट नेता र जसपाका नेताहरुबीचको अनौपचारिक संवाद अहिले पनि चलि नै रहेको जसपाका एक नेताले बताए। एमालेसँग जसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगायतका नेताहरु नियमित छलफलमा छन्।

उता ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न सभापति देउवामाथि पार्टीभित्रबाट दबाब सुरु भए पनि स्वयं देउवाले इच्छा देखाएका छैनन् । आगामी भदौमा हुने पार्टीको महाधिवेशनबाट पुनः सभापति हुने योजनामा रहेका देउवाले आफ्नो नेतृत्वमा सरकारमा जाँदा पार्टीमा आफू कमजोर हुने ठानेर सरकार गठनमा चासो नदिएको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाएको छ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo