चाँडै नै संसारको सबैभन्दा अग्लो रेल्वे पुलको उद्घाटन हुँदैछ । यो रेल्वे पुल तयार हुने क्रममा छ । भारतका केन्द्रीय रेल मन्त्री पियुष गोयलले यस पुलको तस्वीर आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेका छन् ।
उनले आफ्नो ट्वीटमा लेखेका छन – भारतीय रेल्वे इन्जिनियरिङमा एउटा कोशेढुंगा थपिंदैछ । चेनाब नदीमा निर्माण भइरहेको संसारको सबैभन्दा अग्लो रेल्वे पुल चाँडै नै तयारी अवस्थामा देख्न पाइनेछ ।
गोयलले चर्चा गरेको यो रेल जम्मू कश्मीरको रियासी जिल्लामा भारतीय रेल्वेले निर्माण गरिरहेको छ । आर्क आकारमा चेनाब नदीमाथि निर्माण भैरहेको यो पुल स्टीलबाट बनाइएको हो ।
यो पुल पेरिसको आइफेल टावर भन्दा ३५ मिटर अग्लो छ । यसलाई भारतीय रेल्वेको इतिहासमा अहिलेसम्मको सबैभन्दा कठिन चुनौतीको रुपमा लिइएको छ । यसलाई कोंकण रेल्वेले पूर्णता दिने काम गरिरहेको छ ।

चेनाब नदी माथि निर्माण भैरहेको यो रेल्वे पुल उधमपुर–श्रीनगर–बारामुला रेल परियोजनाको हिस्सा हो, जो मार्च २०२१ सम्ममा सम्पन्न हुनेछ । यस पुलको कुल लम्बाई १.३ किलोमिटर छ भने उचाई ३५९ मिटर रहेको छ । पुल आइफेल टावरभन्दा ३५ मिटर अग्लो छ ।
यस पुलको आर्कको व्यास ४८५ मिटर अनि सबैभन्दा अग्लो खम्बाको उचाइ १३३.७ मिटर रहेको छ । यस पुलमा कुल सत्रवटा खम्बा रहेका छन् भने उधमपुरदेखि बारमुला सम्मको यस रेल परियोजनाको कुल लम्बाइ ३२६ किलोमिटर रहेको छ ।
यस पुल निर्माण गर्न २५ हजार मेट्रिक टन स्टील खपत भएको छ । यस पुलले २६६ किमि प्रतिघण्टा चल्ने हावाको वेगलाई सजिलै धान्न सक्छ । साथै यो पुल भूकम्प प्रतिरोधात्मक हुनुका साथै विस्फोट प्रतिरोधी समेत रहेको छ ।
यस पुलमा अधिकतम सय किलोमिटर प्रतिघण्टाको गतिले रेल चल्न सक्छ । यो परियोजनाको कूल लागत २० हजार करोड भारतीय रुपैयाँ रहेको छ । भने पुलको लागत भने ५१२ करोड भारु रहेको छ ।
यस परियोजना अन्तर्गत जम्मू–कश्मीरको अनन्तनाग, शोपियाँ, पुलवामा, श्रीनगर, बडगाम, तथा बारामुला जिल्ला पर्छन । यस रेल मार्गमा करिब १५ स्टेशन हुनेछ भने ६२ ठूला र ७३९ साना पुल हुनेछन् । यसका अलावा १० वटा ओभरहेड ब्रिज पनि हुनेछन् ।






























प्रतिक्रिया