केन्द्रबिन्दु बुलेटिन : माधव नेपाल र भीम रावल एमालेबाट निलम्बित (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : माधव नेपाल र भीम रावल एमालेबाट निलम्बित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै दुवै जनालाई ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको हो । पार्टीले दुवै जना नेतालाई पत्र पठाउँदै आफ्नो क्रियाकलाप सच्याएर पार्टीको पक्षमा लाग्न समेत आग्रह गरिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित परीक्षा भने यथावत रुपमा सञ्चालन हुनेछन् ।

सरकारले रेशम चौधरीलगायत बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा तीन  सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए । वार्ता टोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी छन् ।

चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप सोमबार आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९ः१५ बजे आइपुगेको हो । त्यस्तै भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ एक लाख डोज उपलब्ध गराएको छ ।

चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट अर्को जनावरमार्फत् मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ । प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालोमा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ ।

Skip This
Skip This
Logo