नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ।
कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको जानकारी दिए ।
‘६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको छ, केही जिल्लामा समायोजन टुंगिन बाँकी छन्, केही जिल्लाले विवरण पठाउन नै ढिला गरिरहेका छन्। त्यसले गर्दा सुरु कार्यतालिका पनि प्रभावित भएको छ,’ ढुंगानाले भने ।
उनले गत शुक्रबारसम्म मात्रै ४ लाख ८० हजार जनाको सदस्यता नवीकरण र नयाँ विवरण इन्ट्री भएको जनाए । यो संख्या मंगलबारसम्म ५ लाखको हाराहारीमा रहेको ढुंगानाले बताएका हुन् ।
कांग्रेसले अघिल्ला महाधिवेशनमा कागजी प्रक्रियामार्फत सदस्यको विवरण राख्दै आएकोमा यसपटक सदस्यता वितरणलाई अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा इन्ट्री गर्दै आइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तर सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, बर्दिया, बाँके, कैलाली, रुकुम पूर्व र डोल्पाबाट भने सदस्यताको विवरण अनलाइन प्रणालीमा इन्ट्री नै भएको छैन । यीमध्ये केही जिल्लामा पार्टी समायोजनको काम नै बाँकी छ।
कांग्रेसले आगामी भदौमा हुन गइरहेको महाधिवेशनको कार्यतालिकामा १० चैतसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो । सो मिति नाघेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले २० चैतका लागि केन्द्रीय समितिको बैठकसमेत बोलाइसकेको छ।
यसअघि कांग्रेसले केन्द्रीय समिति बैठकबाट समयमै काम नसक्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने निर्णय गरेको थियो।राजधानीबाट































प्रतिक्रिया