काठमाडौं ।
कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका हुन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानु पर्नेछ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विषाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिए।
त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ ।
कोकाकोला, फ्यान्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे । दिनको एक,दुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उनले बताए ।
त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिए। सादा खाना खान र शरिरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खान पनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागती लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरिरमा फाइदा पुग्ने उनको भनाई छ । योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैभन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए।
भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनु पर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताए। घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नु पर्नेमा जोड दिए। खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा.मरासिनीको भनाई छ ।





























प्रतिक्रिया