नेपाल-खनाल समूहद्वारा दुईमहिने अभियानको घोषणा

नेपाल-खनाल समूहद्वारा दुईमहिने अभियानको घोषणा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को नेपाल-खनाल समूहले दुईमहिने अभियानको घोषणा गरेको छ। सो समूहको आज बसेको स्थायी कमिटी बैठकले दुईमहिने अभियानको घोषणा गर्दै तल्लो तहसम्म जाने निर्णय गरेको हो । 

स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए अनुसार नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नारा लिएर दुई महिना अभियान सुरु गरिने भएको हो। भट्टराईले आफूहरू पार्टी एकताको लागि सधैं तत्पर रहेको पनि बताएका छन् ।

शुक्रबार बसेको स्थायी समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गर्ने निर्णय गरेको थियो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन पनि आह्वान गरेको छ। बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ । अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं।’

यस्तै बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्णरुप दिएको छ। उक्त अवधारणापत्रलाई प्रकाशित गरि पार्टीगत रुपमा देशभर वितरण गरिने नेता भट्टराईले बताए।

बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकताका लागि ध्यान दिंदै देशव्यापीरुपमा कार्यक्रमहरु गरि मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ। जेठ ३ गते मदन आश्रित स्मृति दिवसलाई पनि एकताकै शिलशिलामा जोडने र चितवनमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ। 

बैठकले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको पनि विरोध गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ। 

Skip This
Skip This
Logo