इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। 

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा (एमाले) माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो। अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताए। 

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकाले यसलाई स्वीकार्न नसकिने बताए। यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ। 

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र, पन्ध्र दिनमा मूल्य समायोजन गर्ने व्यवस्था अनुरुप मूल्यवृद्धि गरिएको बताए। निगमसँग भण्डारण क्षमता नभएकाले भारतले मूल्य बढाउने वित्तीकै नेपालमा पनि मूल्य बढाउनु पर्ने बाध्यता रहेको स्पष्ट पारे। यद्यपी विद्यार्थीहरुको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए। उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे। 

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ। आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए। 

Skip This
Skip This
Logo