विकसित राजनीतिक घट्नाक्रमले देश नै लज्जित हुनु पर्ने अवस्थामा पुग्यो : रविन्द्र मिश्र

विकसित राजनीतिक घट्नाक्रमले देश नै लज्जित हुनु पर्ने अवस्थामा पुग्यो : रविन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनु पर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरेका हुन् । अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको पनि उनले बताए।

संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि मिश्रको भनाइ छ । तर अहिले जे भइरहेको छ त्यो संविधानको विपरित भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरुले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए। त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताए। 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराइरहेको टिप्पणीसमेत गरेका छन्। नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको उनले बताए। 

उनले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार, सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पारे। यी विषयहरु सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि उनको भनाइ थियो । 

यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको मिश्रले बताए। वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलहरुबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए। 

उनले भने, ‘रोजगारीको विषय यति महत्वपूर्ण छ। देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं। श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौं। त्यो त लज्जाको विषय हो नी। देशको श्रमशक्ति बेचेर त्यसमा खुसी मनाउने त्यो होइन ।’

अर्थतन्त्रलाई उद्देलित गर्न सक्षम र इमान्दार व्यक्तिले मात्रै सक्ने र त्यसबाट मात्रै रोजगारी सिर्जना हुन सक्ने पनि अध्यक्ष मिश्रले बताए। 

यस्तै कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डेले राजनीतिमा नैतिकता आवश्यक छ भन्दै प्रधानमन्त्रीले नयाँ सरकार गठनको बाटो खुल्ला गरि सहयोग गर्नु पर्ने बताए । उनले राज्यका निकायमा राजनीतिक भागवण्डा हुने भएकाले नागरिकले स्वतन्त्र न्याय पाउन नसकेको पनि बताए । पाण्डेले पार्टी नागरिकलाई कसरी जागरण गराउने भन्ने अभियानमा लागेको पनि जानकारी दिए । केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले उपस्थित संचारकर्मीहरुलाई कार्यक्रमका उद्देश्य र महत्वका बारेमा जानकारी गराएका थिए। 

Skip This
Skip This
Logo