बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणकारीहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।
हालसम्म भागेका ६ जना कैदीहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्वीकार गरेका थिए।
प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूहले आफ्नो सङ्लग्नता अस्वीकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।
हमला
सोमबार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए। प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।
राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ''अराजकतावादीहरूले'' गरेको ''आतङ्कवादको कार्य'' भनेका छन्। उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।
द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमबारको आक्रमण पछाडि उक्त समूहको हात रहेको विषय ''झुटो'' रहेको बताएका छन्।
जनावरी महिनादेखि दक्षिण-पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।बीबीसीबाट































प्रतिक्रिया