आखिर तपाईं हो के ? के भन्छ विज्ञानले ?

आखिर तपाईं हो के ? के भन्छ विज्ञानले ?

केन्द्रबिन्दु
0
Shares

तपाईंको मातृभूमि, तपाईंको कर्मभूमि  तपाईंको देश तपाईंको समाज तपाईंको जाति-धर्मले तपाईंलाई अनेकौँ मान -सम्मान, उपमा, विभूषण, अलंकार प्रदान गर्छ। देशको सपुत, देशको कर्णधार, देशको गहना आदि आदि ।

अनि घर परिवारका लागि, बाउको वंशचालक, आमाको मुटुको टुक्रा, पत्नीको लागि प्राण पियारो सर्वेसर्वा, छोराछोरीका लागि एटीएम अन्य अन्यका लागि समय अनुसार खै के के हुन पुग्नु हुन्छ तपाईं !  समाजमा तपाईं दानवीर, वरिष्ठ, जुझारु, मिलनसार, लगायत  अनेकौं रुपमा सुविख्यात हुनुहुन्छ।

विभिन्न धर्मको आ-आफ्नो मान्यताअनुसार कहीँ तपाईं ईश्वरपुत्र, कहीँ ईश्वरको अनुपम सिर्जना , कहीँ ईश्वरकै अंश, कहीँ आत्मा…अरु नजाने के के बन्न पुग्नु हुन्छ?

आफ्नो अहंकारमा तपाईं छोइ नसक्नु, अद्वितीय, सर्वज्ञ, सर्वगुण सम्पन्न, ‘तपाईं हीरा बाँकी सब कीरा’ सदृश्य नै सम्झिनु हुन्छ आफूलाई ।

अब एकपटक माथिको तस्वीर पुनः हेर्नुस !

हामी २१ औं शताब्दीमा हिँडिरहेका छौं । विश्वभरी सर्वत्र विज्ञानले समस्त खाले जीर्ण शीर्ण  मान्यताहरु सखाप बनाउँदै गइरेहको छ। विज्ञान ठूलठूला ‘ल्याब’ र ठूला युनिभर्सिटीका ‘क्लासरुम’ बाट निस्केर जनजनको दैनिक जीवनमा पुगी सकेको छ भन्नुमा तपाईंलाई कुनै आपत्ति
 नहोला ।

बिजुली बत्तीको रुपमा होस्, मोटर गाडीदेखि विमानसम्म,  सिटामोलदेखि आधुनिक प्रविधि भ्याक्सिनसम्म,  चाहे मोबाइल-कम्प्यूटर -फोन भन्नुस् वा एटीएम प्रयोग गर्नुस्, सबै विज्ञानका उपलब्धि नै हुन । के तपाईं बिजुली  नभएको, मोबाइलरहित, इन्टरनेट नभएको, अस्पतालमा स्वास्थ्य जाँच गर्ने अनेकौं उपकरणविहीन अवस्थाको कल्पना गर्दै बाँच्न सक्नु हुन्छ? विज्ञानमाथि पराश्रित हुँदै गएको तपाईंको जीवनबारे आखिर विज्ञानको धारणा के छ?

विज्ञानको जीवविज्ञान शाखा -BIOLOGY_ तपाईंको बारेमा भन्छ, ‘तपाईंको शरीरमा रहेको ७ प्रतिशत रगत  नै तपाईं हो।’

यसैगरि अर्को शाखा रसायन विज्ञान -CHEMISTRY भन्छ, ‘शरीरमा रहेको ६५ प्रतिशत पानी नै तपाईं  हो।’

अर्को महत्वपूर्ण शाखा भौतिक विज्ञान -PHYSICS  भन्छ, ‘तपाईं अणुले बनेको हो र एउटा अणुमा ९९.९९९९९९९९ प्रतिशत रिक्त स्थान (आकाश) हुन्छ, तसर्थ तपाईं ९९.९९९९९९९९ प्रतिशत रिक्त आकाश हो ।’

अनि अत्याधुनिक क्वांटम फिजिक्स के भन्छ? भैगो छाड्नुस…! आखिर यसले जे भने पनि तपाईंले बाँच्नु त आफ्नै धारणाअनुसार छ। त्यो 'शोले' फिल्ममा भन्छ नि असरानीले- 'हम अंग्रेजो के जमाने के जेलर हैं, हम नहीं सुधरे तो तुम क्या सुधरोँगे !'

हामी सबैजना पनि त आ-आफ्नो जेलका जेलर हौं। आफ्नो आफ्नो मान्यताका कैदी…! सोच्नुस हैं तपाईंको जेल कुन हो ? कांग्रेस -कम्युनिस्ट- धर्मभीरु-धर्मनिरपेक्ष-कट्टर-उदारवादी-मानवतावादी अथवा तपाईंले आफ्ना लागि कुनै नयाँ जेल पो बनाउनु भएको छ कि? इति नमस्कारांते 

Skip This
Skip This
Logo