दुर्गम जिल्लाका सांसदहरुले घाम नलागेसम्म मोबाइलमा टावर नआउने भन्दै नेपाल टेलिकमको सेवाप्रति गुनासो गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित ‘दूरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर’ सम्बन्धी अन्त्ररक्रियामा विभिन्न दुर्गम जिल्लाका सांसदहरुले दूरसञ्चार सेवा राम्रो नभएको भन्दै गुनासो गरेका हुन् । बझाङ जिल्लाकी सांसद आशाकुमारी विकले बझाङ जिल्लामा हिउँदमा हिउँ परेर टावर नआउने, वर्षामा पानी परेर नआउने र अन्य समयमा दश नबज्दासम्म, घाम नलाग्दासम्म टावर नआउने भन्दै गुनासो गरेकी हुन् । जिल्लामा चारवटा सिमकार्डले काम गर्ने तर फरक–फरक डाँडामा फरक–फरक सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको पनि बताइन् ।
जुम्ला जिल्लाका सांसद गजेन्द्रबहादुर महतले फागुन महिनादेखि जुम्लामा एनटीसीले काम नगरेको बताए । टावर बिग्रेपछि पनि निर्माण गर्ने कार्यमा ढिलासुस्ती हुने गरेको उनको भनाइ छ ।
अछाम जिल्लाका सांसद रामबहादुर विष्टले अछाम जिल्लामा १० वटा स्थानीय तह रहेको र केही स्थानीय तहमा अहिलेसम्म मोबाइल सेवा नपुगेको जानकारी दिए । चल्ने ठाउँमा पनि जताजतै घाम लागेको छ, जहाँ डाँडाँ छ त्यहीँ गएर फोन गर्नुपर्ने अवस्था रहेको बताए । टुजीसमेत नचल्ने ठाउँमा थ्रिजी र फोरजीको अपेक्षा नभएको उनको जिकिर छ ।
कालिकोट जिल्लाका सांसद दुर्गाबहादुर रावतले कर्णाली प्रदेशमा अहिलेसम्म नेपाल टेलिकमको प्रादेशिक कार्यालय नभएकाले समस्या पर्दा गुनासो गर्ने ठाउँ नै नपाएको बताए । यस्तै अहिले सबै स्थानीय तहले अनलाइनबाट योजना माग गर्नुपर्ने व्यवस्था रहेको तर इन्टरनेटको सुविधा नहुँदा गतवर्ष कर्णालीका अधिकांश पालिकाहरुले बजेट माग गर्नै नपाएको उनको भनाइ छ । उनले इन्टरनेट नै नहुँदा सुर्खेत पुगेर काम गर्नुपर्ने बाध्यता भएको पनि बताए ।
मुगु जिल्लाका सांसद मोहन बानियाँले दुर्गम जिल्ला अन्य कुराले मात्रै पछाडि परेको नभई सञ्चार क्षेत्रमा पनि दुर्गम रहेको जिकिर गरे । दैलेख जिल्लाकी सांसद पार्वतीकुमारी विशुन्खेले दैलेख जिल्लामा कम्युटर र इन्टरनेटको कहिल्यै भेट हुँदैन भन्दै व्यङ्ग्य गरिन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कर्णाली र सूदुरपश्चिम प्रदेशमा भएको सञ्चार क्षेत्रको समस्याप्रति आफू गम्भिर भएको बताए । उनले कर्णाली र सूदुरपश्चिम प्रदेशमा पूर्ण रुपमा टेलिकमको सेवा नपुर्याउँदासम्म अन्य नयाँ कार्यक्रम र योजना नबनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
मन्त्री गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न पनि सांसदहरुलाई आग्रह गरे । सञ्चार क्षेत्र नै संसार भएकाले त्यसको विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सबैको ध्यान जान जरुरी रहेको बताए ।































प्रतिक्रिया