दुर्घटना न्यूनीकरण गर्न टल्कने ट्राफिक कोण

दुर्घटना न्यूनीकरण गर्न टल्कने ट्राफिक कोण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोणहरु राखेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको चक्रपथभित्र ८ तथा चक्रपथ बाहिरका २६ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गरेको छ । ती स्थानहरुका सडकमा विशेषगरी रातको समयमा सडकबत्ती नहुँदा अँध्यारोका कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना हुने स्थानहरुमा रातको समयमा समेत टल्कने कोणद्वारा स्पिड ब्रेकर बनाइ गति नियन्त्रण गरिएका जानकारी दिए । उनका अनुसार यस्ता कोणहरु उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थान राखिएको छ ।

एयरपोर्ट गेट, कार्गाे, तिलगंगा, बालकुमारी, भाटभटेनी ओराला, बल्खु चोक, सीतापम्प, खसि बजार, सीतापाइला उकालो, वाफल, सानो भर्याङ, वनस्थली, बबरमहल लगायतको सडकखण्डमा ट्राफिक कोणहरु राखिएको र यसलाई पछिसम्म निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका विभिन्न १३ स्थानमा दुईसय थान ट्राफिक कोण राखेको थियो ।

Logo