ओली सरकार अब धेरै दिन टिक्दैन : प्रचण्ड

ओली सरकार अब धेरै दिन टिक्दैन : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताएका हुन्। यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताए। 

सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि अध्यक्ष बताए। सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइरहेकाले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताए। 

अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताए। लोकतान्त्रिक गणतन्त्र र संविधान सभामार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको बताए। 

तर विद्रोहमा जानु अगाडि नयाँ सरकार गठन गरेर सोही सरकारमार्फत अहिले भइरहेका ज्यादतिहरुलाई सच्याउन चाहेको पनि प्रष्ट पारे। संविधान नमान्ने सरकार हटाइनु पर्ने उनको भनाइ थियो। 

सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडि बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताए। निजामती कर्मचारी ऐन पनि प्रधानमन्त्रीले नै रोकेका कारण संसदमा आउन नसकेको उनको आरोप छ। 

अध्यक्ष प्रचण्डले यो सरकार अब धेरै दिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरुको सम्बन्धमा साथ, समर्थन र सहयोग रहने पनि बताए। 

Logo