बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । “बेनीका एक हजार घरधुरीलाई रातो र हरियो रङको दुई वटाका दरले डस्टबिन वितरण गर्न थालेका छौँ”, उनले भने, “घरका सबै फोहोर ती डस्टबिनमा सङ्कलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर सङ्कलन हुन्छ ।”

नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले ‘कम्प्याक्टर’ र ट्र्याक्टरले आलोपालो गरेर कुहिने र नकुहिने फोहोर घरघरमै पुगेर सङ्कलन गर्ने व्यवस्था मिलाइएको बताए । “कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई कवाडीमा बिक्री गर्ने योजना छ”, उनले भने, “फोहोर व्यवस्थापन शुल्क तिरेका घरधनीले मात्र डस्टबिन पाउनेछन् ।”

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत १३ लाख ७६ हजारमा खरिद गरेको डस्टबिन घरधनीलाई आइतबारदेखि वितरण सुरु गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ७ को वीरेन्द्रचोक टोल सुधार समितिअन्तर्गतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर वितरण कार्यको सुरुवात गरेका थिए ।

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गरिँदा केन्द्रमा लगेपछि व्यवस्थापन गर्न सहज हुने बताइएको छ । यसअघि कुहिने र नकुहिने सबै फोहोरसँगै सङ्कलन गर्दा व्यवस्थापन गर्न असहज भएको थियो । बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यस्तै विधि अपनाउने नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाले रातोपहिरोमा दुई वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । ४७ लाखमा फोहोर सङ्कलन गर्ने टहरा निर्माण र घेराबार गरिएको छ । कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको छ । केन्द्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने फरक–फरक ठाउँ बनाइएको छ । 

Skip This
Skip This
Logo