प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। उनले सकुनीले जस्तो दोश्रो पटक पासा फ्याकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिए। उनले संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था श्रृजना गर्न आग्रह गरे।
उनले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिए।
व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सहि नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद् नै भंग गरेको टिप्पणी गरे।
शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिए “सकुनीका गोटी” नै फ्याँक्न बताएका थिए।
उनले “संसदको अंंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याँकिने छन्। गोटी नै फ्याँक्दिएपछि सकुनीले के लडाउँछ ?” भनेका थिए।
सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिंदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गरे। अरुलाई दोषारोपण गर्नु भन्दा आफैंभित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिए। म मेरै गोरुको बाह्रै टक्का भन्ने अडानबाट पछि हटेर सबै विकल्पहरुमा गम्भीर छलफल र परामर्श गरी निर्वाचनमा जाने भएपनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नुपर्नेमा उनले जोड दिए।
उनले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्सा जस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराए।





























प्रतिक्रिया