गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले "नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान" भन्ने मूल नाराका साथ 'ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन–२०२१’ पहिलो संस्करणको आयोजना गर्ने भएको छ । संस्करणमा सहभागी हुन डिजिटल अडिसनबाट भिडियो पठाउने ३० अप्रिलसम्म समय बढाइएको एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले जानकारी दिए ।
आइडलको तयारी अन्तिम चरणमा पुगे पनि सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति ७ दिन थप गर्दै ३० अप्रिलसम्म पुराईएको हो। साथै पुरस्कार राशि पनि बढाएर ७ लाख रुपैयाँ पुराइएको छ। त्यसैगरी, दोस्रो पुरस्कार चार लाख, तेस्रो पुरस्कार दुई लाख, चौथो पुरस्कार एक लाख र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। आइडलको निर्णायकहरूमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।
यस्तो छ सहभागिता सम्बन्धि नियम
सार्क मुलुक बाहेकका गैरआवासीय नेपाली संघ गठन भएका सबै राष्ट्रबाट प्रतियोगीहरु सहभागि हुन पाउनेछन्। विश्वभरका ६ वटा क्षेत्रीय समितिहरुबाट सहभागिता रहनेछ । प्रत्येक क्षेत्रीय समितिबाट कम्तीमा १२ जना प्रतियोगीहरु सहभागी हुन पाउनेछन् भने उपलब्ध भए सम्म समितिले अधिकतम प्रतियोगीहरुलाई सहभागी गराउन सक्नेछ।
यस्तो छ प्रतियोगी छनौट प्रकृया
क. डिजिटल राउण्ड
प्रत्येक प्रतियोगीहरुले डिजिटल अडिसनको लागि गीत अनुसारको नेपाली पोषाकसहित आफ्नो नाम, आफू रहेको राष्ट्रको नाम, गीतको बोल, ओर्जिनल गीतका सर्जक तथा गायक–गायिकाको नामसहित ३ मिनेटसम्मको सम्पादन नगरिएको सफा र प्रष्ट नेपाली भाषाको भिडियो
आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई पठाउनु पर्नेछ ।
प्रत्येक राष्ट्रिय समन्वय परिषद्ले उक्त भिडियो क्षेत्रिय समितिलाई छनौटका लागि पठाउने छ र प्रत्येक क्षेत्रिय समितिले छनौट भएको भिडियो क्लीप आयोजक कमिटीको इमेल ठेगाना [email protected], [email protected] मा पठाउनु पर्नेछ।
प्रत्येक क्षेत्रिय समितिले कम्तीमा १२ जना प्रतियोगी पठाउनु पर्ने र उपलब्ध भएसम्म समितिले अधिकतम प्रतियोगीहरुलाई सहभागी गराउन सक्नेछन् । आयोजक कमिटीले प्राप्त प्रतियोगीहरुको भिडियो क्लीपलाई निर्णायक मण्डललाई पठाउने छ। डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मुल्याङ्कन गर्दै पहिलो चरणमा प्राप्त प्रतियोगी मध्येबाट ५० जना प्रतियोगीहरुलाई मात्र छनौट गरी ओपनीङ्ग राउण्डमा लैजाने छ । छनौट भएका ५० जना प्रतियोगीहरुको नामावली ५ मे अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रिय समितिहरुलाई जानकारी गराउनेछ । साथै आयोजकले प्रेस नोट जारी गरी मिडियामा जानकारी गराउने छ।
ख- ओपनीङ्ग राउण्ड
ओपनीङ्ग राउण्डलाई ३ चरणमा बाँडिने छ, जस अन्तर्गत अन्तरा, सारेगम र पियानो राउन्ड रहनेछन् । अन्तरा राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५० जना प्रतियोगीहरुले प्रवेश पाउने छन् भने यस राउण्डमा थप एक–एक गितको प्रस्तुति दिए पश्चात यस राउण्डबाट १० जना प्रतियोगीहरु बाहिरीनेछन् । बाँकी ४० जना प्रतियोगिहरुले ओपनीङ्गको सारेगम राउण्डमा प्रवेश भने पाउनेछन् ।
सारेगम राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरुले प्रवेश पाउने छन् भने यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिए पश्चात यस सारेगम राउण्डबाट १० जना प्रतियोगीहरु बाहिरिनेछन् । बाँकी ३० जना प्रतियोगीहरुले पियानो राउण्डमा प्रवेश पाउनेछन् ।पियानो राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन् । भर्चुअलमार्फत १४ मे २०२१,नेपाली समय अनुसार विहान ११ बजे सुरु हुनेछ ।
ग- गाला राउण्ड
गाला राउण्डलाई ३ चरणमा बाँडिएको छ जसमा प्रथम दोस्रो र तेस्रो राउण्डमा बिभाजन गरिएको छ । प्रथम गाला राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगी मध्ये ५ जना प्रतियोगीहरु बाहिरिनेछन् भने बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन् । दोस्रो राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगी मध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरु बाहिरिनेछन् भने बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन् ।
तेस्रो गाला राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगी मध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरु बाहिरिनेछन् भने बाँकी १५ जना प्रतियोगी ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन् । यो राउन्ड १५ मे २०२१, नेपाली समय विहान ११ बजेबाट सुरु हुनेछ।
घ- ग्राण्ड फिनाले
२१ मे २०२१, नेपाली समय विहान ११ बजेबाट सुरु हुने ग्राण्ड फिनाले राउण्डलाई ३ चरणमा विभाजित गरिएको छ। जसमा फाईनल राउण्डको अन्तिम चरणबाट ग्राण्ड फिनालेमा प्रवेश पाएका १५ जना मध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरु बाहिरिनेछन् भने दोस्रो चरणमा प्रवेश पाएका १० जना मध्ये थप ५ जना दोस्रो चरणबाट बाहिरिनेछन् । फिनालेको दोस्रो चरणबाट अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरुलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी विजेता घोषणा गरिनेछ ।
निर्णायक मण्डलले प्रत्येक राउण्डमा सार्वजनिक पपुलर मतलाई ४० प्रतिशत आधार मान्दै ६० प्रतिशत निर्णयाधिकार मात्र प्रयोग गरि निर्णय सुनाउने ब्यवस्था गरिएको एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले जानकारी दिएका छन् । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरुलाई गिती एल्बममा गीत गाउने अवसर दिइनेछ।































प्रतिक्रिया