इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थानमाथि पन्जाब किंग्सले रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो ।
जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित सर्वाधिक ११९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
आइपिएल इतिहासमा डेब्यू कप्तानीमा शतक प्रहार गर्ने स्यामसन पहिलो ब्याट्सम्यान बनेका छन् । स्यामसनले १८ औं ओभरको तेस्रो बलमा झेय रिचर्डसनलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए ।
राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको थियो । राजस्थानले आफ्नो दोस्रो खेल बिहिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । पन्जाबले शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।































प्रतिक्रिया