केन्द्रबिन्दु बुलेटिन : मुलुकले अर्को लकडाउन धान्न सक्दैन : कांग्रेस (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : मुलुकले अर्को लकडाउन धान्न सक्दैन : कांग्रेस (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये कोभिड–१९ को दोस्रो लहर रोक्न तत्काल आठ कार्य सुरु गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ। कांग्रेसको कोभिड–१९ अनुगमन समितिले अब फेरि मुलुकले लकडाउन धान्न नसक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना स्कुल तथा कलेजको पठनपाठन बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला सहरमा रहेका शिक्षण संस्थाहरु एक महिना बन्द गर्न र अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो। शिक्षा क्षेत्रका सरोकारवालाहरुले भने कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन्।

२०७७ सालको अन्तिम दिन शेयर बजार नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको छ। आज नेप्सेले यस अघिका सबै रेकर्ड तोड्दै नयाँ इतिहास रचेको हो। अहिलेसम्मकै उच्चविन्दु २७०० को रेकर्ड बनाउँदै आज २३ अंकले बढेको नेप्से २ हजार ७१४ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज सेन्सेटिभ इन्डेक्समा समेत करिव ६ प्रतिशतले सुधार आएको छ। सेन्सेटिभ इन्डेक्स ५.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज विकास बैंकको ३.४१ प्रतिशत र वाणिज्य बैंकको २।३ प्रतिशतको वृद्धिले दुई उपसमूहको सूचकमा उच्च अंकको सुधार आएको छ। 

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण अर्थात् रेमिट्यान्स मुलुक भित्रिएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको जनाएको छ। गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई गत  फागुन मसान्तमा रु १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन्। काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने आशा व्यक्त गरेका हुन्। नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । 

Skip This
Skip This
Logo