अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी

अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनी निकट अमेरिकी अधिकारीहरुले बताएका छन्। 

अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो। कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन्। 

तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको छ। 

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयासस्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाइ सार्वजनिक भएको हो। यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको घोषणा भने राष्ट्रपति बाइडेनले बुधबार गर्नेछन् । यद्यपि अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो। 

अन्त्यमा, राष्ट्रपति बाइडेनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेको एक वरिष्ट अमेरिकी अधिकारीले बताएका छन्। 

आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै शर्तसहित अमेरिकी सेना तैनाथ रहने भन्नुको अर्थ अफगानिस्तानमा अमेरिकी सेना अनन्तकाल रहने भन्ने देखिएकाले राष्ट्रपति बाइडेनले हाल सम्पूर्ण सेना फिर्ता गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको जानकारी दिए।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ। तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो।

बाइडेनका ती अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट सुरु हुने जानकारी दिए। उनले अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्ष्य गरी आक्रमण नगर्न पनि चेतावनी दिए।रासस

Skip This
Skip This
Logo