राजनीतिक नेतृत्वको चिन्तन र संस्कार परिवर्तन हुन सकेन : ऊर्जामन्त्री

राजनीतिक नेतृत्वको चिन्तन र संस्कार परिवर्तन हुन सकेन : ऊर्जामन्त्री

केन्द्रबिन्दु
0
Shares

ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्।

अखिल (छैठौं) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरु कायमै रहेको बताएका हुन्। त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि बताए। 

एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए। परिवर्तित समाजमा माक्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, सामाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए। अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताए। संसद विघटन देखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताए। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरे । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उनले बताए। यसलाई संस्थागत गर्न चुनौती रहेको भन्दै नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको आरोप लगाए। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले अझैपनि क्रान्ति सफल नभएको बताए। क्रान्ति पुरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको उनको भनाइ थियो ।

कार्यक्रममा अखिल (छैठौं) ले आफ्ना पूर्वअध्यक्षहरुलाई सम्मान गरेको थियो। यस्तै नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं) को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो।

Logo