काठमाडौं ।
यातायात व्यवसायीले यस वर्ष दसैंका लागि टिकट बुकिङ खुला गरेका छैनन् । अघिल्ला वर्षका तुलनामा यस पटक यात्रुको चाप कम भएकाले टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।
सरकारले २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीसमक्ष प्रस्ताव गरेको थियो । तर ५० प्रतिशतभन्दा कम गाडी सञ्चालनमा ल्याउँदा पनि यात्रुको अभाव देखिएको छ। सञ्चालनमा रहेका गाडीले पनि पूर्ण क्षमतामा यात्रु पाउन मुस्किल रहेको व्यवसायीको दाबी छ। मुलुकभर करिब साढे ३ लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । ‘धेरै गाडी निक्लिएका छैनन् । यात्रु पर्याप्त छैनन्’, सिटौलाले भने, ‘यात्रुको चाप बढे गाडी बढाउन सकिन्छ।’
भाडादर पुरानै
सार्वजनिक यातायातले पूर्ण क्षमतामै यात्रु बोक्न पाउने भएका छन् । मन्त्रिपरिषद्को असोज २६ गते बसेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको हो। भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णय समयमै सम्बन्धित निकायमा जानकारी नगराउँदा यात्रु महँगो भाडा तिर्न बाध्य भइरहेको यातायात अभियन्ता प्रेमबहादुर थापाले बताए । ‘सरकारले भाडा घटाएको भन्ने सुनिएको छ’, उनले भने, ‘तर, यात्रुसँग पुरानै भाडा असुल भइरहेको छ।’
महासंघका महासचिव सिटौलाले सरकार र सरकारी निकायबीच समन्वय नहुँदा यात्रु मारमा परेको बताए । ‘पूर्ण क्षमतामा यात्रु राख्दा ट्राफिक प्रहरीले कारबाही गर्छ’, सिटौलाले भने, ‘आधा सिट क्षमतामा पुरानो भाडा दरमा सञ्चालन खर्च नै उठ्दैन।’ भाडा र सिट क्षमताको विषयको मन्त्रिपरिषद्को निर्णय शनिबार १ बजे मात्र ट्राफिक प्रहरीले प्राप्त गरेको प्रवक्ता यादवले सुनाए। अबदेखि पूर्ण सिट क्षमतामा यात्रु बोक्ने सवारी साधन प्रहरीको कारबाहीमा पर्ने छैनन्।
१० स्थानमा यात्रु सहायता कक्ष
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको सहकार्यमा उपत्यकाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सहायता कक्ष कलंकी, कोटेश्वर, गोंगबु, कोटेश्वर, बल्खु, गौशला लगायत स्थानमा छन्। सहायता कक्षमा लामो तथा मध्यम दूरीको भाडा विवरण राखिएको हुन्छ । थापाले गाडीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको बताए।अन्नपूर्णबाट































प्रतिक्रिया