नेपालमा आन्तरिक उडानका लागि ख्याती कमाएको विमान कम्पनी बुद्ध एयरले थप अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने भएको छ।
काठमाडौंबाट प्रदेशका मुख्य मुख्य सहरहरुमा उडान भर्दै आएको यस कम्पनीले पहिलो पटक पोखरा–नेपालगञ्ज, पोखरा–विराटनगर, पोखरा–सिमरा, तुम्लिङटार–विराटनगर, पोखरा–भैरहवा र भैरहवा–भद्रपुर सिधा उडान गर्ने भएको छ। आगामी १ मे २०२१ बाट उल्लेखित स्थानहरुमा एकैपटक उडान सुरु हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीले थप सेवा विस्तार गरेसँगै सर्वसाधारणले अन्तर प्रदेश हवाई सेवाको लाभ लिन सक्ने भएका छन्।
नयाँ गन्तव्यका लागि यस्तो छ भाडादर
कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार पोखरा–नेपालगञ्जका लागि न्युनतम ४ हजार ५ सयदेखि ७ हजार २ सयसम्म लाग्नेछ । यस्तै पोखरा–विराटनगरका लागि ६ हजारदेखि १० हजार ८ सय, पोखरा–सिमराका लागि ४ हजार ३ सयदेखि ६ हजार ७ सय, तुम्लिङटार–विराटनगरका लागि २ हजार ५ सयदेखि ३ हजार २ सय, पोखरा–भैरहवाका लागि ३ हजार १ सयदेखि ३ हजार ९ सयसम्म र भैरहवा–भद्रपुरका लागि २ हजार ५ सयदेखि ४ हजारसम्म लाग्ने भएको छ।
कम्पनीले मुलुकका २० भन्दा बढी स्थानमा दैनिक १२० भन्दा बदी उडान भर्दै दैनिक ६ हजार ५ सय नागरिकलाई सेवा दिंदै आएको छ।































प्रतिक्रिया