कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन्। सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो।
सिनामङ्गलस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन्।
एयर अरेबियाको उडानबाट सारजाँ जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान हिँडेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। आज यात्रा गर्न नपाएका ती यात्रीलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्नेबारेमा उनीहरूबाट कुनै निर्णय नभएको उनले जानकारी दिए।
आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थल सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन्। सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका स्वास्थ्य प्रतिवेदन यात्रीसँग भएकाले उनीहरूलाई अनुमति नदिइएको उनले जानकारी दिए।





























प्रतिक्रिया