सांसदहरुले बुझाएको स्पष्टीकरण हेरेर एमालेले थप कारबाही अगाडि बढाउने

सांसदहरुले बुझाएको स्पष्टीकरण हेरेर एमालेले थप कारबाही अगाडि बढाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताए। नेकपा (एमाले)ले संघीय संसद्का २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो।

बिहीबार प्रतिक्रिया दिंदै प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टीकरण बुझाउन थालेको र प्राप्त स्पष्टीकरणको विश्लेषण गरेर थप कारबाही अगाडि बढाउने बताए। केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको बताए। 

पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उल्लङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टीकरण सोधिएको भट्टराईले बताए।

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीको ह्वीपलाई उल्लङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निश्कासन गर्ने पनि बताए। 

पार्टीले स्पष्टीकरण सोधेसँगै माधव नेपालपक्षका सांसदहरुले स्पष्टीकरण दिने निर्णय गरेका थिए। हाल सांसदहरुले स्पष्टीकरण बुझाउन थालेका छन्। यता, पार्टीको विवाद समाधानको सम्बन्धमा बुधबार र बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुईपटकसम्म भेटवार्ता गरिसकेका छन्।

Logo