असारसम्म नेपालमा तीन लाख व्यक्तिमा कोभिड-१९ संक्रमण देखिन सक्ने

असारसम्म नेपालमा तीन लाख व्यक्तिमा कोभिड-१९ संक्रमण देखिन सक्ने

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्न सक्ने अनुमान गरेको छ। मन्त्रालयले कोभिड–१९ को युके भेरियन्टको संक्रमणदर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अबको तीन महिनामा संक्रमणदर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

अर्यालका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए। 

पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको समेत बताए। गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको छ । जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए। 

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ। जसमा पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया (भी.टी.एम.), एन्टीजेन कीट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढिकरण, आई.सी.यु., एच.डी.यु., तथा अन्य औषधी उपकरणहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापहरुको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ । त्यस्तै खोप कार्यक्रम र एच.डी.यु.को लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ। 

चालु आर्थिक वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २७.५४ प्रतिशत अर्थात १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए। 

कुल जनसंख्याको ७६ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि सचिव अर्याले बताए। त्यस अनुसार २ करोड १५ लाख मानिसहरुलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दरसहित करिब ५ करोड खोप आवश्यक पर्ने बताए। सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको तथा देशभर रहेको १४ हजार खोप केन्द्रबाट दैनिक ६ लाख मानिसहरुलाई खोप लगाउन सक्ने क्षमता रहेको पनि सचिव अर्यालले बताए। 

Skip This
Skip This
Logo