चालू आर्थिक वर्षको चैतमा औसतभन्दा सुन आयात बढी

चालू आर्थिक वर्षको चैतमा औसतभन्दा सुन आयात बढी

केन्द्रबिन्दु
0
Shares

चालू आर्थिक वर्षको चैत महिनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ। चालू आवका अन्य महिनाहरूमा औसतमा २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महिनामा भने ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महिनामा ४६० केजी सुन नेपाल भित्रिएको छ। परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो। चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। वैशाख महिनामा हुने विवाहजस्ता कार्यक्रमलाई लक्षित गरेर सुनको आयात बढाउँदा यस्तो देखिएको हो। नेपालमा वैशाख महिनामा पनि विवाहका कार्यक्रम बढी हुने गर्छन्। विवाहमा सुनका गरगहना लगाउने, उपहारस्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन छ। त्यसका कारण नेपालमा यस समयमा सुनको खपत बढी हुन्छ। त्यसैले चैत महिनामा सुनको आयात बढी हुँदै आएको छ।

वैशाखमा हुने विवाहलाई लक्षित गरेर चैतमा सुनको आयात बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए। ‘विवाहको सिजनका कारण वैशाखमा सुनको खपत बढी हुन्छ। सोही अवस्थालाई दृष्टिगत गर्दै चैतमा सुनको आयात बढाएका हौं,’ उनले भने, ‘कोरोना विपद्का कारण लामो समयसम्म विवाहका कार्यक्रम पनि हुन सकेका थिएनन्। तर, यसपालि विवाहका कार्यक्रम व्यापक मात्रामा हुने अपेक्षा छ।’

गत चैत २४ गतेदेखि वैशाखको पहिलो हप्तामा मात्रै ५०० केजीभन्दा बढी सुन आयात भएको उनको भनाइ छ। कोरोना प्रभाव नबढेमा अबका दिनमा सुनको व्यापार राम्रै हुने उनको अनुमान छ।

गत चैतदेखि सुनको आयात परिमाण दैनिक १० केजीबाट बढाएर २० केजी पुर्याइएको छ। त्यसको असरले पनि सुनको आयात बढ्न सहयोग पुगेको हो।

नेपालमा सुन आयात गर्न पाउने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ। बैंकहरूले नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा सुन आयात गर्दै आएका छन्।

चालू आवको चैतसम्म नेपालमा १९ अर्ब ३१ करोड ६ लाख बराबरको सुन आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ४६ प्रतिशतले बढी हो।

गत आवको चैत मसान्तसम्म रू. १३ अर्ब ४६ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार चालू आवमा नेपालमा २ हजार ७६० केजी सुन आयात भएको छ। यूएईबाट १७ अर्ब १८ करोड र टर्कीबाट २ अर्ब १३ करोड बराबरको सुन आयात भएको हाे।आर्थिक अभियानबाट

Skip This
Skip This
Logo