अपराधमुक्त सहर निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड

अपराधमुक्त सहर निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड

केन्द्रबिन्दु
0
Shares

नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील सहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ। 

‘सहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र जनसाधारणको सहभागिता बढाउनुपर्नेमा नेपालले जोड दिएको हो।

अप्रत्यक्षरुपमा उक्त छलफलमा आज भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताएका न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। 

उनले हिंसा, अपराध, असुरक्षा तथा सामाजिक अपराधलगायत अनेक जोखिमको सामान गर्दै सहरहरूलाई अपराधमुक्त तुल्याउन नेपाल सरकारले गरेका प्रयासबारे जानकारी दिए। 

अतिकम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नत हुने आकाङ्क्षा पूरा गर्न नेपालले अपराध निवारण तथा दिगो शहरी विकासमा आफूलाई केन्द्रित गरेको जानकारी दिँदै गृहमन्त्रीले त्यसका लागि सङ्घीय संरचनाका तीनवटै निकायसँग सशक्त समन्वय र सहयोग कायम गरेर अघि बढिरहेको बताए। 

अपराध रोकथाम तथा सहरी विकासका नीति तथा कार्यक्रममा युवा, महिला, स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको मन्त्री थापाले बताए। 

राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको एकदिने उक्त छलफलमा १६ देशबाट मन्त्रीस्तरीय प्रतिनिधित्व भएको थियो भने कैयौँ उच्चस्तरीय वक्ताले भाग लिएका थिए।रासस

Logo