नेकपा एमालेले कोभिड १९ विरुद्धको लडाईंमा सिंगो पार्टीलाई परिचालन गर्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको १० औं महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकले पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला, नगर, गाउँदेखि सबै जनवर्गीय संगठनहरूलाई तत्काल परिचालन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्ष ओलीले नेता कार्यकर्ताहरूलाई कोभिडविरुद्धको लडाईंमा जुट्न निर्देशन दिइसकेको बताए।
‘कोभिड १९ को नयाँ–नयाँ भेरियन्ट, देखिएको छ, अस्पतालमा भर्ना भएकामध्ये धेरैलाई अक्सिजन चाहिने अवस्था छ र अहिलेसम्म धानेको छ तर यसरी बढ्दा गाह्रो पर्छ”, प्रवक्ता ज्ञवालीले बैठकपछि पत्रकारहरूसँग भने, ‘हेल्थ डेस्क राख्ने, संक्रमणको सम्भाव्य भएकाहरूलाई राख्न क्वारेन्टिन बनाउने, स्थानीय तहसँग समन्वय गर्ने, विरामी भए नजिकको अस्पतालमा पुर्याउने, जिल्लास्थित सीसीएमसीसँग सहकार्य गर्ने काम उहाँहरूले गर्नुपर्ने भएको छ।”
ओलीले अक्सिजन प्लान्टहरू पूर्ण क्षमतामा विस्तार गर्न, औषधीको आयात गर्नदेखि खोपलाई विस्तार गर्न पनि सरकारका सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको ज्ञवालीले बताए।
बैठकमा ओलीले सांसदहरूलाई सोधिएको स्पष्टीकरणबारे पनि ब्रिफिङ गरेका छन्।
केही प्रदेशमा अविश्वासको प्रस्ताव विपक्षी दलहरूबाट आउने अवस्था रहेको र पार्टीका निलम्वित नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गर्ने सम्भावनाबारे छलफल भएको थियो।
यस्तै उनले तत्काल देशव्यापी बन्दाबन्दी नगरिने बताए। उनका अनुसार ‘हट स्पट’ मात्रै बन्दाबन्दी हुनेछ। उनले जनस्वास्थ्यका मापदण्डहरूलाई भने पूर्ण पालना गर्न आग्रह गरेका छन्।































प्रतिक्रिया