होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्।
अहिले दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे। उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए। अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने बताए।
फेरि पनि लकडाउन भएमा व्यवसायीहरु आर्थिकरुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताए। त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरि सघाउनु पर्ने र बजेटमार्फत रोजगार संरक्षण कोष घोषणा गर्नु पर्ने पनि माग गरे।
सरकारले जारी गरेको मापदण्ड अनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म होटल सञ्चालन गर्न पाइने र २५ जना भन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ। होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैंले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योलता बढेको पनि बताए।
अब आउने बजेट यस अघिको भन्दा पृथक हुनुपर्ने बताउँदै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरुत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गरे।





























प्रतिक्रिया