भेरी अस्पतालका कोरोना बेड भरिभराउ, उपचार नपाएर छट्पटिँदै संक्रमित

भेरी अस्पतालका कोरोना बेड भरिभराउ, उपचार नपाएर छट्पटिँदै संक्रमित

केन्द्रबिन्दु
0
Shares

पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ। जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन्। गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ। 

दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन्। उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेका भेटिए। आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधुप बढेको हो। अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ। केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन्। दाङमा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन्। उपचारकै क्रममा उनको मृत्यु भयो। यस्तो पीडाकाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उनको गुनासो छ। 

यो त प्रतिनिधि घटना मात्रै हो। भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइरहेकाहरु प्रशस्त भेट्न सकिन्छ। भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो। कोभिडका लागि छुट्याइएको १ सय ४२ बेड भरिए पनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ। कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन्। 

आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन्। अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ। भर्ना भएका विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताए।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन्। अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन्। भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ। दैनिक एक सयभन्दा बढी कोरोनाका विरामीहरु थपिदै गएका छन्। पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ।

Skip This
Skip This
Logo