विज्ञहरू भन्छन्, ‘खोपले मात्रै जोगाउँदैन, जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नु पर्छ’ 

विज्ञहरू भन्छन्, ‘खोपले मात्रै जोगाउँदैन, जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नु पर्छ’ 

केन्द्रबिन्दु
0
Shares

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन्।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालनालाई नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको चर्चा गर्दै उनीहरू भन्छन्, “खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्ने हैन।”

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने जानकारी दिँदै खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने बताए। खोपले बढाएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ, खोप लगाएको कति समयपछि यसले काम गर्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको उनले स्पष्ट पारे। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी बन्ने विभिन्न अध्ययनले देखाएको जानकारी दिए।

शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “खोपको मात्रा पूरा गर्नुपर्छ र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ । तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले सुरक्षा दिन सक्छ ।” कोभिसिल्डले बढीमा ६ महिनासम्म सुरक्षा दिन सक्ने जानकारी दिँदै डा. पुनले भने, “भाइरसको परिवर्तित स्वरूपका कारण कोभिडविरुद्धको यो खोपले काम गर्ने, नगर्नेमा विश्वस्त हुने अवस्था छैन । त्यसैले खोप लगाएपछि ढुक्क भएर बस्नु हुँदैन।”

अहिले कोरोना (कोभिड–१९) का नयाँ–नयाँ ‘भेरिएन्ट’ विकास भइरहेको अवस्थामा अहिले प्रयोग भइरहेका खोपको प्रभावकारिता पुष्टि हुन बाँकी नै रहेको चर्चा गर्दै उनले खोप लगाएँ भनेर ढुक्क भएर नहिँड्न आग्रह गरे। खोप लगाएको ठ्याक्कै कति समयपछि शरीरमा यसले काम गर्न थाल्छ भन्ने यकिन जानकारी आउन पनि बाँकी छ। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएर निको भएकालाई पनि फेरि सङ्क्रमण हुन सक्ने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सुझाव दिएको छ। सङ्क्रमणपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा पनि पुष्टि भइनसकेकाले सबैले खोप लगाउनुपर्ने विज्ञहरूको धारणा छ।गाेरखापत्रबाट

Logo