सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ। यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन्।
कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे।
हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका सवारी साधन चलाउन दिनुपर्ने उनले बताए।
महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुनसक्ने बताए।
अघिल्लो वर्ष लामो समय बन्द गरिंदा यातायात क्षेत्र धरासायी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन्। सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरुले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए।































प्रतिक्रिया