काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमित र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो।
बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने,“हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने छन्। यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछौँ।”
एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ। महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घरोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन।
आपतकालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्रि नम्बर ११८० लाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ।गोरखापत्रबाट































प्रतिक्रिया