२२८ प्रतिशतले बढ्यो कोरोना संक्रमण, २० प्रतिशतलाई अक्सिजन आवश्यक

२२८ प्रतिशतले बढ्यो कोरोना संक्रमण, २० प्रतिशतलाई अक्सिजन आवश्यक

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। 

सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताइन्।  डा. श्रेष्ठका अनुसार संक्रमणदर हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदैछ’, डा. श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौं।’ 

डा. श्रेष्ठले गम्भीर परिस्थितिमा आइपुगेका बताइन्। ‘यही गतिमा संक्रमणको दर बढ्दै गए दैनिक १ सय ५० जना संक्रमितले ज्यान गुमाउनुपर्ने हुन्छ’, उनले भनिन्। संक्रमणदरको चेन ब्रेक गर्न निशेधाज्ञा उपयुक्त भएको डा. श्रेष्ठले बताइन्। निशेधाज्ञा उल्लंघन नगरी स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने महामारी वेग रोक्न सकिने उनको भनाइ छ। 

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट यो मात्रामा संक्रमण पुष्टि भएको हो। पछिल्लो चौबीस घण्टामा १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार संक्रमण अहिले गणितीय दरमा वृद्धि भइरहेकाले अस्पतालमा आईसीयूको माग बढ्दै गएको छ। संक्रमितमध्य झन्डै ८० प्रतिशतलाई सामान्य लक्षण हुने र धेरैलाई अस्पताल भर्ना हुन नपर्ने डा. पौडेलले बताए। ‘संक्रमितमध्ये करिब २० प्रतिशतलाई अस्पतालमा भर्ना भई अक्सिजन चाहिने संभावना हुन्छ’, डा. पौडेलले भने।अन्नपूर्णबाट

Skip This
Skip This
Logo