कोरोना संक्रमणको दोस्रो तरंग नेपालमा तीव्र रुपमा फैलिएसँगै बजारमा अक्सिजन ग्याँसको अभाव हुन थालेको छ। कोरोना संक्रमितका लागि अक्सिजन ग्याँस अत्यावश्यक पर्छ।
संक्रमणको दोस्रो तरंग चुलिएपछि नेपालमा उत्पादनभन्दा बढी अक्सिजन सिलिन्डर माग हुने थालेको व्यवसायीले बताएका छन्। अस्पतालमा अक्सिजन ग्याँसको माग अत्याधिक बढ्दै गएको अवस्थामा उपभोक्ताले भने घरमै अक्सिजन ग्यासका साना सिलिन्डर स्टक राख्न थालेका छन्। उपभोक्ताले घरमै सिलिन्डर स्टक राख्न थालेपछि बजारमा सिलिन्डर अभाव हुन थालेको व्यवसायी बताउँछन्।
पछिल्लो समय अक्सिजन ग्याँस उद्योगीलाई एकदमै दबाब पर्न थालेको छ। पहिले माग अनुरुप आपूर्ति हुँदै आएकोमा अत्यधिक माग बढेकाले आफूहरुलाई दबाब परेको व्यवसायीले बताएका छन्। ‘अहिले बजारको माग धान्न मुस्किल परेको छ,’ अक्सिजन ग्यास उत्पादन संघका अध्यक्ष गौरव सारडाले भने।
उनका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ३ देखि ४ हजार थान सिलिन्डर मेडिकल अक्सिजन माग हुन्छ। कोरोना महामारीको दोस्रो तरंग चलेका बेला दैनिक ७–८ हजार थान सिलिन्डर ग्यास माग हुन थालको छ। पछिल्लो कोरोना हटस्पट बनेका नेपालगन्ज र काठमाडौंमा अक्सिजन सिलिन्डरको माग उच्च छ। अन्य जिल्लामा भने अहिले त्यस्तो माग नरहेको सारडाको भनाइ छ।
‘दैनिक संक्रमण दर बढ्दै गएमा उत्पादित ग्यासले धान्न नसक्ने स्थिति आउँछ। तर, अहिलेसम्म काठमाडौं र नेपालगन्जमा मात्र बढी चाप भएकाले धानिरहेका छौं,’ उनले भने।
अहिले बजारमा हल्ला चलेजस्तो अभाव नभए पनि भारतमा अक्सिजन नपाएर मानिसहरुले ज्यान गुमाएको समाचार पढेपछि उपभोक्ताले डरले ग्यासका सिलिन्डर घरमै थन्क्याएर राख्न थालेकाले व्यवसायीलाई धान्न मुस्किल भएको उनको भनाइ छ।
‘घरमा लगिएका सिलिन्डर फिर्ता भएमा मात्रै उत्पादित ग्याँस सिलिन्डरमा राख्न सकिन्छ। नत्र उत्पादन गर्न सकिँदैन। मानिसले अभावको हल्लाले घरमै ग्यास स्टक राख्दा बजारमा अभाव देखिएको छ,’ सारडाले भने।
पछिल्लो समय हरेक दिन अक्सिजन ग्याँसको माग २० प्रतिशतभन्दा बढी छ। बजारमा ग्याँसभन्दा पनि सिलिन्डर अभाव रहेको छ। ‘ घरमा आवश्यक छैन वा सकिएर सिलिन्डर खाली छ भने घरमा नराख्नुहोला,’ सारडाले अनुरोधसमेत गरे।
त्यस्तै, अर्का अक्सिजन ग्यास उद्योगी वीरेन्द्रकुमार संघाइले उपभोक्ताले अभाव हुन्छ कि भनेर साना सिलिन्डर घरमै स्टक राख्दा बजारमा सिलिन्डरको अभाव भएको बताए।
‘उपभोक्ताले सिलिन्डर घरमै राख्दा खासै समस्या हुँदैन। तर, यसले गर्दा बजारमा कृत्रिम अभावको खतरा बढ्दै जान्छ,’ उनले भने।
कोरोना लागेर मानिस अस्पतालमा अक्सिजन कुरेर बस्नुपर्ने स्थिति भएको र कोरोना लागेमा उपचार गर्न जोकोही अस्पताल नै जानुपर्ने भन्दै घरमा अनावश्यक सिलिन्डर नराख्न उनले अनुरोध गरेका छन्।
व्यवसायीका अनुसार अक्सिजन प्रयोग नगर्ने मानिससमेत अक्सिजन ग्याँस खोज्दै आउन थालेका छन्। यसले गर्दा पनि अक्सिजन घरमा गएर थन्किने र अस्पातलमा अक्सिजन नपाएर बिरामी मर्ने स्थिति आउने उनीहरुको भनाइ छ।
अहिले बजारमा तीन थरिका सिलिन्डर बजारमा रहेका छन्। एक १.५, ६.५ र ७ क्युभी लिटरको अक्सिजन सिलिन्डर चलनचल्तीमा रहेका छन्। घरमा प्रयोग हुने १.५ क्युभी लिटरको सिलिन्डर भने मानिसको घरमै स्टक रहन थालेको सारडाले जनाए।
उनका अनुसार नेपालमा २४ वटा अक्सिजन ग्यास उद्योग रहेका छन्। त्यसमा पनि कतिपय उद्योग बन्द छन् भने कतिपयले अहिले उत्पादन सुरु गर्न थालेका छन्। केही दिनअघि मात्र नेपाली सेनाले उत्पादन थालेको छ।
२४ वटा उद्योगमध्ये ११ वटा उद्योग काठमाडौंमा रहेका र अन्य सबै अक्सिजन ग्यास उद्योग काठमाडौंबाहिर रहेका छन्। उनका अनुसार अहिले बजारमा सिलिन्डरसहित अक्सिजन ग्याँसको मूल्य ८ हजारदेखि १३ हजारसम्म छ।





























प्रतिक्रिया