मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिएका छन्। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो। नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ। उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ। विमानस्थल कार्यालयकाअनुसार गए रातिसम्म उडान भएको थियो। बिहीबर अन्तर्राष्ट्रियतर्फ २६ प्रस्थान र २५ आगमन गरी ५१ उडान निर्धारण गरिएको थियो।
मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गर्ने निर्णय गरेको थियो। यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ।
चार्टड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ।
अघिल्लो वर्ष कोभिड–१९ सङक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो। चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरेको थियो। महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो।रासस































प्रतिक्रिया