प्रहरी प्रशासनको सक्रियताद्वारा दुई हजार सिलिण्डर सङ्कलन र वितरण

प्रहरी प्रशासनको सक्रियताद्वारा दुई हजार सिलिण्डर सङ्कलन र वितरण

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ।  

गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको विज्ञप्ति जारी गरी जनाएको छ।  

मुलुकका विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार शुक्रबार मात्रै एक हजार ८१६ थान अक्सिजन सिलिण्डर सङ्कलन भएको छ। कोभिड बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिलाई मन्त्रालयले धन्यवाद दिएको छ। 

यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य  र उद्योग मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ। 

यस विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा  समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी गराउँदै गृह मन्त्रालयले कोभिड उपचारका लागि यसको अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सबै लाग्नुपर्नेमा जोड दिएको छ।  

अस्पतालबाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त नजीकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई मानवीय कार्यमा योगदान दिन मन्त्रालयले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo