जापानमा संकटकाल लम्बियो, ओलम्पिक होला कि नहोला?

जापानमा संकटकाल लम्बियो, ओलम्पिक होला कि नहोला?

केन्द्रबिन्दु
0
Shares

ओलम्पिक सुरु हुन ८० दिनभन्दा कम समय बाँकी रहँदै गर्दा जापानले टोकियोलगायत अरु तीन क्षेत्रमा कोरोना संक्रमण बढेसँगै संकटकाल लम्ब्याएको छ। 

राजधानी टोकियो, ओसाका प्रान्त, ह्योगो प्रान्त र क्योटो प्रान्तमा संकटकाल जारी रहने जापानका प्रधानमन्त्री योसिहिदे सुगाले बताएको क्योडो न्युज एजेन्सीले उल्लेख गरेको छ। फुकुओका र आइची प्रान्तमा पनि त्यस्तै कदम अपनाइने एजेन्सीले जनाएको छ। 

अघिल्लो महिना मे ११ सम्मका संकटकाल लगाइए पनि संक्रमणमा भइरहेको तीव्र वृद्धि रोक्न असक्षम भएको अर्थमन्त्री यासुतोसी निसिमुराले स्वीकार गरेका छन्। 

अत्यावश्क कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई सुझाइएको भए पनि पैदल यात्रीको चाप हेर्दाे मानिस घर बस्न अनिच्छुक रहेको देखाएको छ। 

महामारी सुरु भएदेखि जापानमा पूर्वी एसियाकै सबैभन्दा बढी ६ लाख २० हजार संक्रमित भइसकेका छन् भने १० हजार ६ सय जनाको मृत्यु भइसकेको छ। यो हप्ताको सुरुतिर टोकियोमा संक्रमित संख्या घटेको भए पनि बुधबार सकिएको गोल्डेन विक पर्वका कारण परीक्षण कम भएकोले संक्रमित संख्या घटेको देखिएको मानिन्छ। टोकियोमा शुक्रबार ९ सय ७ जना नयाँ संक्रमित भेटिएसँगै कूल संक्रमितको संख्या १ लाख ४४ हजार ४ सय ४१ पुगेको छ। 

जापानमा कोभिड–१९ को चौथो लहरको मुख्य बिन्दु ओसाकामा गम्भीर बिरामीका लागि अस्पतालमा शैया अभाव हुन थालिसकेको छ। ‘ओसाका भयावह परिस्थितिमा छ,’ निसिमुराले भने। यस प्रान्तमा उपचार पर्खदापर्खदै धेरै मानिसको घरमै मृत्यु भएको पनि खुल्न आएको छ। 

अहिले भइरहेको महामारीको तीव्र फैलावटविरूद्धको प्रतिक्रिया र खोपको सुस्त वितरणलाई लिएर प्रधानमन्त्री सुगाको चौतर्फी आलोचना भइरहेको छ। कमजोर तयारी र कर्मचारी अभावका कारण जापानले अझै पनि स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको छैन भने ६५ वर्ष र त्यो भन्दा माथिका वृद्धवृद्धालाई खोप लगाउन सुरु पनि गरेको छैन। 

अहिलेसम्म २.२ प्रतिशत जनसंख्याले स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत एउटा मात्रै खोप फाइजरको पहिलो डोज प्राप्त गरेका छन्। अहिलेसम्म आफ्नो कूल खोप स्टकको १५ प्रतिशत मात्रै जापानले प्रयोगमा ल्याएको छ, जसको कारण २ करोड ४० लाख डोज अहिले फ्रिजभित्र थन्किएर बसेका छन्।

संक्रमित संख्या घटाउने अहिलेको प्रयत्न फाइजर/बायोनटेकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग गर्मी याममा टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी खेलाडीहरूले आफ्नो देशमा खोप नपाएमा उपलब्ध गराउने सहमति गरेको घोषणा गरेपछि अघि बढेको हो। 

जापानका खेलाडीहरूलाई पनि खोप दिइने कुरा अघि आएपछि उक्त घोषणको सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

आउँदो गर्मी याममा हुन गइरहेको सेवा प्रदान गर्न अनुरोध आएपछि नर्स तथा अन्य स्वास्थ्यकर्मीले त्यसको विरोध सामाजिक सञ्जालमा गर्न थालेपछि टोकियो ओलम्पिकको विपक्षमा आवाजहरू बुलन्द हुन थालेका छन्। ओलम्पिक रद्द गर्न माग गरिरहेको एक अनलाइन पेटिसन सुरु भएको केहि दिनमै २० हजार जनाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र टोकियो २०२० ले जापानबाहिरका दर्शकहरूलाई ओलम्पिकमा सहभागी हुन नदिने सहमति गरिसकेका छन्। जापानका दर्शकहरूको सन्दर्भमा के गर्ने भन्ने निर्णय अर्को महिनासम्मका लागि थाँती राखिएको छ। 
अनुवाद: कुशल बस्नेत
 

Skip This
Skip This
Logo