परराष्ट्र मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्न निश्चित सीमा नाका संचालन गरि अन्यलाई बन्द गर्ने जनाएको छ।
सरकारको निर्णय अनुसार भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरिने निर्णय गरिएको परराष्ट्र मन्त्रालयको आधिकारिक वेवसाईटमा उल्लेख छ।
कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव तीब्र बन्दै जाँदा भारततर्फका सबै सीमा नाकामा कडाई गरिएको थियो।
तर, भारतमा संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि आफ्नो घर फर्किन चाहने नेपालीहरुको संख्या बढेको हुँदा उनीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो।
त्यसो त कोरोनाको नयाँ भेरियन्टको प्रभावसँगै अहिले देशभर ७० जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको छ। यसमध्ये भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ।
बन्द रहेका सीमा नाका भने सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र खुल्नेछन्, भने अहिले संचालनमा आएका १३ नाकाहरु पनि आवश्यक परिमार्जन हुने पनि मन्त्रालयले जनाएको छ।
भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने बताईएको छ।
त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ।
अनुमति दिइएका १३ नाकाहरु
१. पुलाघाट – दार्चुला
२. झुलाघाट – बैतडी
३. गड्डा चौकी – कञ्चनपुर
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. वीरगञ्ज – पर्सा
९. गौर – रौतहट
१०. भित्तामोड –धनुषा
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपतिनगर – इलाम
सीमा नाका संचालन गर्ने निर्णय यसअघि बसेको सीसीएमसीले गरेको हो।





























प्रतिक्रिया