नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्योः डाक्टर चन्द्रमणि अधिकारी

नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्योः डाक्टर चन्द्रमणि अधिकारी

केन्द्रबिन्दु
0
Shares

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्।

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले “हेल्थ सिस्टम नै कोल्याब्स” भएको दाबी गरेका हुन्। सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेबार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका हुन्।

उनले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याएँ। बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० बर्ष भन्दा माथिका लाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए। उनले वीर अस्पताल एक बर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न गरे।

उनले भने “५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौं। किन चलाउन सकिरहेका छैनौं? एक बर्ष भयो किन चलाउन सकिरहेका छैनौं? कसैले एन्सर गर्न सक्छ यो ? खै प्लानिङ ?”

सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) विरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताए।

उनले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भएपनि महानगरले पहल गरेकोमा धन्यवाद दिए।

वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन्। उनले ५ सय शैयाको अस्पताल भवन हस्तान्तरण नभईसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन्। भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था नरहेपनि आफूहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उनले बताइन्।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोविड अस्पताललाई विरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

उनले चर्चा कमाउन नभई अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताए। अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ थियो।  

Skip This
Skip This
Logo