नेपालमा कोरोना संक्रमण उच्च रुपमा फैलिएसँगै देशभरि बिरामीको उपचारमा प्रयोग हुने अक्सिजन हाहाकार भएको छ। अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनुपरेको छ।
उद्योगबाट २४ घन्टा अक्सिजन उत्पादन भए पनि सिलिन्डर नहुँदा अस्पतालमा अक्सिजन अभाव देखिएको छ। अक्सिजन नहुँदा उपत्यकाका केही अस्पतालले उपचार गर्न नसक्ने भन्दै संक्रमितलाई फिर्ता पठाइरहेका छन्।
अक्सिजन सिलिन्डर अभावले कोरोना संक्रमितको उपचार हुन नपाएको र नेपालमा भएका सिलिन्डरले माग धान्न नसकेपछि चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन सिलिन्डर ल्याउन सुरु गरिएको छ।
सरकारले मंगलबार चीनको बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको जहाजमार्फत् काठमाडौं ल्याएको छ। नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएको जानकारीअनुसार मंगलबार चार सय अक्सिजन सिलिन्डर, १ सय ६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको छ।
२० हजार सिलिन्डरमध्ये चार सय थान आएको र बाँकी सिलिन्डर तयार हुनासाथ चीनबाट ल्याउन जहाजलाई तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताए।
देशभरका अस्पतालमा अक्सिजन सिलिन्डर हाहाकार भएर बिरामीले उपचारबिना ज्यान गुमाउनुपरेको अवस्थामा सरकारले ४ सय सिलिन्डर कसरी व्यवस्थापन गर्दै छ भन्ने सबैको चासोको विषय बनेको छ। अक्सिजन हाहाकार भएपछि दुई दिनदेखि सरकारको अनुमतिबिना सरकारी तथा निजी अस्पताललाई अक्सिजन नदिन सरकारले उद्योगहरुलाई निर्देशन दिएको छ।
आजदेखि अक्सिजन चाहिने अस्पताललाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले व्यवस्थापन गर्न थालको छ। चीनबाट ल्याइएका ४ सय थान अक्सिजन सिलिन्डरको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले बनाएको योजना अनुसार गरिने सिसिएमसीका निर्देशक खगराज बराल बताउँछन्।
‘अहिले आएका ४ सय सिलिन्डर र बाँकी १९ हजार ६ सय सिलिन्डर देशभरि कसरी व्यवस्थापन गर्ने भन्ने कार्ययोजना स्वास्थ्य मन्त्रालयले बनाएको छ। ‘हामीले उद्योगमा भरिएका सिलिन्डर आवश्यक अस्पतालमा सहज तरिकाले व्यवस्थापनको काम थालेका छौं,’ उनले भने।
मंगलबार आएका ४ सय अक्सिजन सिलिन्डर तथा अन्य सामग्री काठमाडौं उपत्यकाका कोभिड अस्पताल तथा केही सिलिन्डर सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पठाउने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले केन्द्रविन्दुलाई बताए।
अहिले आएका चार सय र आउन बाँकी १९ हजार ६ सय सिलिन्डर अस्पतालको सिस्टम अनुसार जोडिने भएकाले केही ठूला अस्पताल र बाँकी अन्य अस्पताललाई वितरण गरिने उनको भनाइ छ। ‘अहिले सिलिन्डर वितरणको व्यवस्थापन मन्त्रालयले गरे पनि सिलिन्डर भर्ने काम सिसिएमसिले गर्छ। त्यही अनुसार सकेसम्म बिरामीलाई अक्सिजन पुर्याउने योजना छ,’ उनले भने
काठमाडौं उपत्यकामा करिब ७७ हजार अक्सिजन सिलिन्डर
सरकार र अक्सिजन उद्योगीसँग नेपालमा कति अक्सिजन सिलिन्डर छन् भन्ने यकिन तथ्यांक नभएको भन्दै आलोचना बढ्न थालेपछि सरकारले सिलिन्डर संख्या सार्वजनिक गरेको छ।
सोमबार सरकारका मुख्य सचिव शंकर बैरागी नेतृत्वको कोभिड–१९ सहजीकरण व्यवस्थापनको बैंठक बसेर अक्सिजन अभाव हुन नदिन देशभर सञ्चालनमा रहेका अक्सिजन ग्यास उद्योग र सिलिन्डरको तथ्यांङकसमेत सार्वजनिक गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विगत दुई वर्षदेखि बन्द रहेको काठमाडौं चाल्नाखेलस्थित एभरेष्ट अक्सिजन प्रा.लि गत आइतबारदेखि सञ्चालनमा आएको छ। त्यस्तै, १० अक्सिजन उद्योगमा औद्योगिक प्रयोजनमा रहेका ४ हजार ३ सय ६१ सिलिन्डर फिर्ता भएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा कूल अक्सिजन सिलिन्डर संख्या १ लाख ८ हजार १ सय ६४ थान छन्, जसमध्ये काठमाडौं उपत्यकाका १० उद्योगमा ठूला ४७ हजार र साना २९ हजार ९ सय १० गरी जम्मा ७६ हजार ९ सय १० सिलिन्डर रहेका छन्।
त्यस्तै, उपत्यकाबाहिर १९ उद्योगमा ठूला २२ हजार ३ सय ५० र साना ८ हजार ९ सय ४ गरी कूल ३१ हजार २ सय ५४ सिलिन्डर रहेका मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सरकारले अहिले सञ्चालित अक्सिजन प्लान्टको ५४ पटक निरीक्षण तथा अनुगमन गरिएको जनाएको छ। कोरोना महामारीमा सिलिन्डर अभाव हुँदा उद्योग तथा निर्माण क्षेत्रबाट १ हजार १९ सिलिन्डर फिर्ता गराइएको छ।
सिसिएमसीद्वारा अस्पतालमा अक्सिजन कोटा निर्धारण
अस्पतालमा अक्सिजन व्यवस्थापन गर्ने जिम्मा पाएसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले मंगलबारदेखि लागू हुने गरी अस्पताललाई अक्सिजनको कोटा निर्धारण गरेको छ।
सिसिएमसीले कोरोना संक्रमितको उपचार गर्ने र ननकोभिडको उपचार गर्ने ७७ अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो। सिसिएमसीले अस्पतालका लागि तोकिएबमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।
अबदेखि एउटा अस्पतालले दैनिक बढीमा ३ सय अक्सिजन सिलिन्डर एउटा उद्योगबाट दिने गरी कोटा निर्धारण गरिएको छ। सबैभन्दा बढी वीर अस्पताललाई ३ सय सिलिन्डर उपलब्ध गराउन नवज्योति ग्यास उद्योग बनेपालाई जानकारी दिएको छ।































प्रतिक्रिया