महामारी समुन्द्रको छाल जस्तै भएको छ, उच्चविन्दुमा पुगेपछि आफैं तल झर्छ: डा रवीन्द्र पाण्डे

महामारी समुन्द्रको छाल जस्तै भएको छ, उच्चविन्दुमा पुगेपछि आफैं तल झर्छ: डा रवीन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी तीन साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन्।

कोभिड १९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए। 

उनले दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताएका हुन्।

उनले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिँदो संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुःख सहेरै भएपनि घर भित्रै बस्नुपर्ने अवस्था रहेको बताए। उनले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास व्यक्त गरे। तर त्यसका लागि आम नागरिकमा आत्मअनुशासन आवश्यक रहेको बताए। धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उनले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए।

उनले विद्यमान अवस्थामा अस्पतालहरुमा बेड कमि भएकाले विस्तारका लागि धेरै काम गर्नुपर्ने भए पनि हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने कुरा सही नभएको दाबी गरे।

उनले भने, “हेल्थ सिस्टम कोल्याब्स भयो भन्ने कुरा म मान्दिनँ। अहिले पनि अधिकांश अस्पतालले भूईँमा, चौरमा, गल्लीमा, म्याटमा, बेञ्चमा भएपनि उपचार गरिरहेका छन्। हामीले उपचार गर्न सक्दैनौ भनेर चिकित्सकहरुले हात उठाएको अवस्था छैन। प्राईभेट अस्पतालले अक्सिजनको अभाव देखाएका छन्। त्यो केही समयमा पुरा हुन्छ। संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको माग पनि घट्दै जान्छ। त्यसैले हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने चाहीँ होइन।”

जनस्वास्थ्यविद् डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरुको क्षमता वृद्धि, अक्सिजनको सहज आपूर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए। उनले संक्रमित भएपनि खोपको दोश्रो डोज लगाएकाहरु संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर विरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गरे। संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भीक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गरे।

उनले महामारी समुन्द्रको छाल जस्तो भएको र उच्चविन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिए। उनले अस्पताल, विरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भइहाले के गर्ने भन्नेबारे पूर्वतयारीका साथ स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव दिए।

Skip This
Skip This
Logo