तटस्थ नबस्न पनि सकिन्छ: कृष्ण थापा (जनमोर्चा सांसद, गण्डकी प्रदेश)

तटस्थ नबस्न पनि सकिन्छ: कृष्ण थापा (जनमोर्चा सांसद, गण्डकी प्रदेश)

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न नसक्नुको कारक राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णबहादुर थापा बने।

पार्टीको निर्णयविपरीत उनी तटस्थ बसे। तटस्थ बसेको जानकारी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुधबार दिएका छन्।

कांग्रेस, माओवादी, जसपासहितको गठबन्धनको पक्षमा उभिन मन नलागेको उनको भनाइ छ।
तर, सोही दलकी सचेतक पियारी थापा र सांसद खिमविक्रम शाही भने विपक्षी गठबन्धनको पक्षमा उभिए हस्ताक्षर पनि गरे।

तटस्थ बसेका उनै थापासँग तटस्थ बस्नुको कारण, कांग्रेससहितको विपक्षी गठबन्धनप्रतिको अरुची, दलको नेताबाट हटाएको भनिएको लगायत सवालमा केन्द्रित रहेर केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।

प्रदेश प्रमुखलाई तटस्थ रहेको पत्र पठाउनु भएछ, किन तपाईं तटस्थ?

विपक्षी गठबन्धनलाई मैले समर्थन गरिनँ। गरौं लागेन। अर्को एमालेसँगको गठबन्धन त पार्टीले नै नगर्ने निर्णय गरेको हो। त्यसो भएपछि दुईतिरै नभएको हुनाले तटस्थ भएको जानकारी दिएँ।

अनि, १२ वैशाखमा त कांग्रेस, माओवादी, जसपासहितको गठबन्धनलाई जनमोर्चाले सहयोग गर्ने भन्ने निर्णय भएको थियो। पार्टी निर्णयविपरीत तपाईं किन जानुभयो?

त्यो त पार्टी केन्द्रले गरेको निर्णय हो । त्यो निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेको थिएँ।

किन असन्तुष्टि?

कांग्रेससहितको गठबन्धनमा जान नहुने मेरो धारणा थियो र छ।

कारण केही? 

अहिले किन भन्ने र?

तपाईं त जनमोर्चाको गण्डकी प्रदेशमा संसदीय दलको नेता । सचेतक पियारी थापा र अर्का सांसद खिमविक्रम शाहीले त विपक्षी गठबन्धनमा सहभागी भएर सरकार बनाउन हस्ताक्षर गर्नु भएछ। नगर्ने तपाईंलाई त दलको नेताबाट हटाएछन्।

अँ हटायो भनेर पूरै सामाजिक सञ्जालमा रहेछ। बाहिर बाहिर हटाएर हट्ने त होइन होला। संसदीय दलको बैठक बसेर बहुमतले हटाउनु पर्ने होला। मैले बुझेको बहुमतले हटाउन पाउँछ भन्ने हो। अनि, फेरि हाम्रो दल राष्ट्रिय जनमोर्चा राष्ट्रिय दल होइन।

हटाएको भन्ने पत्रमा जनमोर्चाको केन्द्रीय महासचिवको निर्देशनअनुसार हटाएको छ भनेको सुनें। अब हटाएकै हो भने पनि गण्डकी प्रदेशको जनमोर्चाको प्रदेश कमिटीको बैठक बस्नुपर्ने हो।

म त कानूनको विद्यार्थी होइन। मैले संसदीय प्रक्रियामा बुझेको अघि भनेकै हो। तर, हटायो भन्ने कुरा जताजतै छ। सामाजिक सञ्जालमा राखिएकै छ।

तर, हटाएकै देखियो नि तपाईंलाई ?

हैन कानूनी प्रक्रिया पूरा गरेर हटाएकै हो भने मेरो केही लाग्दैन। तर, प्रक्रियाबिना त पाइन्नँ। त्यो मैले मान्ने कुरा भएन। कम्तीमा हटाउने निर्णय गर्ने भए त संसदीय दलको बैठक अनिवार्य बस्नुपर्ने होला। त्यही होला निर्णय गर्ने ठाउँ। 

तपाईंले बाग्लुङमा एमालेसँगको गठबन्धनमा जनमोर्चाको तर्फबाट निर्वाचन जित्नु भयो। अहिले कांग्रेससहितको विपक्षी गठबन्धनलाई सरकार गठनमा सहयोग गरियो भने अर्को पटक हुने निर्वाचनमा एमालेले सहयोग गर्दैन र राजनीतिक भविष्य सकिन्छ भन्ने चिन्ता तपाईंमा हो?

होइन, होइन । त्यस्तो होइन। भोलिका दिनमा कुनसँग चुनावी एकता होला, कुनसँग आन्दोलनमा एकता गर्ने होला? त्यो त थाहा छैन। एकता त दुई पार्टीको स्वार्थको आधारमा गरिन्छ।

पहिला चुनावी एकता गरियो भनेर अहिले गरिरहने र अहिले गरेर पछि नगर्ने भन्ने हुन्न। एकता त दुई पार्टीकै स्वार्थ हुने हो नि।

जनमोर्चाको किल्ला यही बाग्लुङ जस्तो जिल्लामा हामीले ४ सिट गुमाएका छौं। जितेको दुईवटा मात्रै हो। हामीबिना कुनै कम्युनिस्ट पार्टीले यहाँ चुनाव जित्दैन। र, मैले पछि बिग्रेला कि भनेर सोचेको हुँदै होइन।

अब, तपाईंको एक मतकै कारण गण्डकी प्रदेश निर्वाचनमा जाने छाँट त देखियो फेरि।

तटस्थ नबस्न पनि सकिन्छ।

त्यो सम्भावना छ तपाईंमा?

भइहाल्छ नि। नहुने भन्ने हुन्छ र? एमाले, माओवादी पनि एउटै हुन बेर छैन। त्यस्तै, अहिले पो हाम्रो मत समर्थन गर्नेमा बाझियो। भोलि नबाझिने पनि त हुन सक्छ। 
 

Logo