एमाले एकता भए पनि ६ जेठमा वाग्मती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारीमाथि पुनर्विचार हुन नसक्ने बताएपछि एमाले वृत्त तरङ्गित छ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मानिने डा. देवकोटा उम्मेदवारी फिर्ता लिनेबारे सोच्नसम्म नसकिने बताउँछन्। उनलाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ।
जबकि, एमालेले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई उम्मेद्वार बनाएको छ। स्थानीय र प्रदेशमा एमालेको एकल बहुमत पनि छ।
संघीयताविज्ञ समेत रहेका डा. देवकोटासँग उम्मेदवारीमाथि पुनर्विचार गर्न नसक्नुको कारण, चुनावी एजेण्डालगायत विषयमा केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानी प्रस्तुत छ।
नेकपा एमाले एकातिर गयो। यस्तो अवस्थामा पनि तपाईं राष्ट्रियसभा सदस्यको उम्मेदवारीबाट पछि सर्न नखोज्नुको कारण के हो?
स्थानीय र प्रदेशको मतदातासँग म भिजिसकें । उहाँहरूले पार्टी भन्दा बाहिर निस्केर प्रदेश र स्थानीय तहको पक्षमा बोलिदिने र लेखिदिने कोही पनि भएनन् भन्नु भएको छ। तपाईं निर्वाचित हुनुभयो भने राष्ट्रियसभामा बोल्नु हुन्छ, सिंहदरबारलाई थर्काउनु हुन्छ, संविधानपदत्त प्रदेश र स्थानीय तहको अधिकारलाई कार्यान्वयन गराउन पहल गर्नुहुन्छ भन्ने उहाँहरूको भनाइ छ।
त्यसकारण तपाईं अगाडि बढ्नुपर्छ भन्ने उहाँहरूले बारम्बार भन्नु भएको छ। हिजोको घटनाले सबैभन्दा चिन्तित उहाँ मतदाताहरू हुनुभयो।
टेलिफोन गर्दै के हो? कसो सर? हामी त साह्रै चिन्तित भयौं भन्नुभयो। पत्रकार साथीहरूले पनि बढी चासो लिनु भएको छ।
फेरि म नेपाली कांग्रेसको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार भएको हुँ। जनता समाजवादी पार्टीको पनि समर्थन छ।
स्वतन्त्र उम्मेदवार दिनु त गाह्रो छ नि। प्रस्तावक र समर्थक नपाउने स्थिति हुन्छ। जतिसुकै लोकप्रिय भए पनि पार्टी राजनीति जोडिएको गाह्रो हुन्छ।
तैपनि मैले प्रस्तावक, समर्थक र समर्थन गर्ने दल राष्ट्रिय पार्टी पाएको छु। यसबीच म निर्वाचनको प्रचारमा छु। सरकारप्रति जनताका तीब्र असन्तुष्टि छन्। वितृष्णा जागेको छ मान्छेहरूमा। अनि उनीहरूले विकल्प चाहेका छन्। त्यही भएर मैले विकल्प दिनका लागि पनि उम्मेदवारीमा पुनर्विचार गर्दिनँ।
वागमती प्रदेशको स्थानीय तह र प्रदेशमा एमालेको एकल बहुमत छ। चुनौती महसुस छैन?
हेर्नुहोस्, मलाई केही पनि चुनौती महसुस छैन। मजा छ। सबैले नजिकबाट चिन्नुहुन्छ। म पनि नजिकबाट चिन्छु। स्थानीय तहलाई विश्वासमा लिनुपर्छ र सबल बनाउनुपर्छ भन्नेमा थिएँ प्रदेशमा रहँदा पनि। सबैको मनको ढुकढुकीमा छु क्या म, वास्तवमा भन्नुपर्दा। त्यही भएर मैले जीतको लागि चुनौती महसुसै गरेको छैन।
अनि, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पुनर्विचार लिनुहोस् भन्नुभयो भने के गर्नुहुन्छ?
मैले त भनिसकें नि, म सतिसाल झैं उभिन्छु। निष्ठामा बस्छु। हुनतः म राजनीतिज्ञ होइन। कलमबाट विचार प्रवाह गरेको हुँ। इमान्दारिताका साथ संघीयताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा र समानुपातिक समावेशीताको पक्षमा वकालत गरेको छु। बहस गरेको छु, निष्ठा र इमान्दारिताका साथ। त्यही भएर प्रतिबद्ध भएर कांग्रेसको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी भएको छु। त्यसो भएपछि उम्मेदवारी पुनर्विचार गर्ने कुरै भएन।
कांग्रेस र माओवादीले राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण तपाईंले सोची दिनुपर्याे भने पनि म पछि सर्नेवाला छैन। मेरो उम्मेदवारी फिर्ता कल्पना भन्दा बाहिर हो। अगाडि बढिसकें।
कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन तपाईंलाई छ। एमालेबाट पनि मत आउने स्थिति छ?
सबै मतदाताको मनको ढुकढुकीमा छु भनेपछि कुरा सकियो नि। म प्रदेशमा हुँदा सबै राजनीतिक पार्टीहरूको कार्यक्रममा पुग्थें। त्यसअघि पनि सबै पार्टीको कार्यक्रममा जाने संघीयताबारे छलफल गर्ने प्रस्तुतीकरण राख्ने लगायत काम गर्थें।
त्यही भएर पार्टीको घेराबाट बाहिर आएर मतदान गर्ने र जिताउनेमा म ढुक्क छु। फेरि मतदान त गोप्य हुने हो। कसले कहाँ मतदान गर्याे भन्ने थाहा हुँदैन। त्यही भएर भन्छु, समस्या छैन।
बुँदागत भन्दा तपाईंका एजेण्डाहरू के–के छन्?
पहिलो एजेण्डा– संविधानपदत्त स्थानीय र प्रदेशका अधिकारलाई संस्थागत गर्ने, सुदृढीकरण गर्ने र चलायमान गर्नेमा समन्वयसँगै र सहयोग गर्ने हो।
दोस्रो– दुवै तहको सरकारलाई संविधानपदत्त अधिकार अनुसार काम गर्न दिन, स्रोत साधनको व्यवस्था गर्न, कर्मचारीको पर्याप्त व्यवस्था गराउन समन्वय गर्ने हो।
तेस्रो– संविधानले अधिकार तल स्थानीय तहमा पठाएको छ तर सरकारले किन काठमाडौंमा केन्द्रिकृत गरेको भनेर राष्ट्रियसभामा बोल्ने हो।
यी कुराहरू पहिलेदेखि नै कलमको माध्यमबाट भन्दै आएको छु। निर्वाचित भएपछि राष्ट्रियसभामा उठाउने हो। खबरदारी गर्ने हो। दुई वर्षदेखि निजामती सेवा विद्येयक संसदमा थन्किएर बसेको छ। त्यसबारे पनि कुरा उठाउने हो।
कोभिडका कारण हिँड्डुल गर्न सकिने स्थिति छैन। बन्दाबन्दी छ। चुनावी प्रचार चाहिँ कसरी गर्दै हुनुहुन्छ?
फोनबाट गर्दैछु। म उम्मेदवार हुने भन्ने बित्तिकै स्थानीय तह र प्रदेशका मतदाता साथीहरू स्वतः जोडिन आइपग्नु भयो।





























प्रतिक्रिया